Wednesday, September 30, 2009

यसपाली पनि दशैं खाली निधार बित्यो

आखिर हाम्रो परिचय संस्कृतिसँगै जोडिएको छ। तर जब यसरी विदेशी भूमिमा आफ्ना सांस्कृतिक धरोहरका रुपमा रहेका चाडबाडले ढपक्कै छोप्दा मन कति खिन्न हुने रहेछ भन्ने अनुभूति भईरहेछ यो दशैंमा। हामी नेपालीहरुप्रति जति नै सहानुभूति देखाए पनि पीडाको मर्म मापन गर्न कसैले सक्दैन। जो नेपाली जहाँ जसरी रहेपनि देशको सांस्कृतिक दूतको रुपमा पुर्याएको योगदानको मुलुकले कहिले पनि कदर गर्न जानेन। बरु उल्टो आरोप लाग्छ हामीलाई विदेश बसेर भाग खोज्ने र खोस्नेहरु भन्ने। तर विदेश अधिकांश नेपालीको रहर नभएर बाध्यता हो भन्ने यथार्थलाई पनि बुझिदिनु पर्यो देश बनाउने नारा दिने र यस्तै खोक्रो नाराको पछाडि आफ्नो स्वार्थ पुरा गर्न दौडधुप गर्नेहरुले।
भावना र कर्तव्य निकै फरक हुने रहेछ। कहिलेकाँही म यस्तै भावनामा यति कमजोर बन्न पुग्छु त्यो बेला अरु सारा व्यर्थ र गौण लाग्छन्। तर जिउनु पर्ने रहेछ यथार्थ र कर्तव्यको जगमा। कम्प्युटरमा बसेर किबोर्ड थिचिरहँदा यो क्षण विगत झल्कन्छ कम्प्युटरको स्त्रि्कनमा। तर अब न ती गुमेका दिनहरु फिर्ता आउँछन् मात्र भुल्न नसक्नुको अनुभूति। म समय,भोगाई र यथार्थको जञ्जीरमा गुजि्ररहेछु कुनै कुनामा। सिंगो आकाश पनि मलाई अपुरो लाग्छ यो बेला क्षितिजपारीको आकाशलाई निलेको पो छ कि जस्तो भ्रम मभित्र उत्पन्न भईरहेछ। म आफैंलाई समयले कैदी बनाएर कजाई रहेछ।
सुनसान यी मानव वस्तीहरु आफैंलाई गिजाईरहेजस्तो। दशैं लागेको छ मलाई। खै किन हो यसवर्ष दशैंको अनुभूति भिन्न हुँदैछ। धेरै भयो अभिभावक र परिवारजन्बाट टाढिएको। सबै आफ्नै संसारमा अघिपछि विदेशमा सबै आफ्नै धुनमा व्यस्त हुन्छन्। तर जब चाडबाड आउँछ तब सबैले विदेशमा आफ्नाआफन्त खोज्दछन्। म समयको कैदी न त उम्कन नै सकेको छु न त यो जञ्जाल तोड्न नै। अनि सम्झन्छु आफ्नाआफन्त सबैलाई। गुमेका पलहरु सम्झेर रौसिनुको कुनै अर्थ छैन तर भुल्न सकिन्न। sathiharu sanga कुरा हुँदा दशैं आउँछ। खसीको मासुको चर्चा हुन्छ। अनि शुभकामना आदानप्रदानसँगै यही दोहोरिन्छ दशैं,तिहार,देउसी,भैलो,चाडबाड,आफ्नाआफन्त सबैलाई काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा नै छोडेर आइयो। हो त नि। त्यसैले यहाँ हाम्रो चाडबाडमा छुट्टी मिल्दैन। कहिलेकाँही त कुन चाड कहिले पर्छ भन्ने समेत हेक्का रहँदैन।
यतिखेर सबैले सबैलाई सम्झेर शुभकामना आदानप्रदान गर्ने लहर चलेपछि दशैंले ढपक्कै ढाकेको महसुस हुन्छ। यी चाडबाडहरु कति प्यारा छन् हाम्रा लागि। हिन्दू धर्म वास्तवमै आफैंमा धनी छ संस्कारका लागि। तर परिवर्तनको फोस्रो नारामा लहडिनेहरु चन्द्र र सूर्य अंकित झण्डा त फेर्नुपर्छ भनेर कुँडलिन्छन् भने हाम्रो संस्कति र धार्मिक महत्वको आवश्यकता जगाउन कता लाग्थे होलान् र? घृणा लाग्छ यस्ताहरुदेखि र धिक्कार्छु म यस्ताहरुलाई। सबै जाति,धर्म र संस्कृतिको साझा पर्व हो दशैं। अनि नेपाली पहिचानको अमूल्य धरोहर हो देशको झण्डा। मन यसरी चारैतिर भौतारिन्छ।
फोन मार्फत् आफ्नाआफन्त सबैसँग कुरा गरेपछि एक्लोपन निकै बढ्छ। काठमाडौं घरमा फोन गरेको सबैले तासमा यति जित्यौं र यति हार्यौं भनेर …विदेशमा बसेर देशका बारे चासो राख्नु ,सिक्नु र यहाँ फर्केर त्यसको सदुपयोग गर्नुपर्छ,’ बुढ्यौलीले थिच्दै लगेका कान्छा हजुरबाको यो सुझावले मन गह्रुँगो बनाउँछ फेरि एकपटक। धेरै वर्ष भयो यसरी परिवारसँग टाढिएर चाडबाडमा एक्लो बस्नुपरेको। कफी पिउन कफीसपतिर छिर्छु ,छिमेकीको …दशहरा मुवारक ‘ भन्ने शुभकामना कानमा गुञ्जन्छ अनि त्यही छिमेकी आफ्नो जस्तो लाग्छ। कफी बनाउँदै गर्दा ऊ त्यहाँ काम गर्ने सबै नेपालीहरु टीका लगाउन छुट्टी मागेर गएको जानकारी दिन्छ र कफी दिंदै सोध्छ मेरो खाली निधार हेरेर किन टीका नलगाएको भनेर। मसँग कुनै जवाफ छैन। म …फेरि भेटौंला’ भन्दै कफी लिएर घर फर्कन्छु र ऐनामा हेरेर आफैंसँग प्रश्न गर्छु …खै मेरो निधारमा रातो टीका र कानमा सिउरने जमरा?’ मन एकतमासले एकोहोरिन्छ कति वर्ष भएछ यसरी खाली निधारको दशैं भनेर सम्झन खोज्दा खोज्दै आँखाबाट अनायास झरेको आँशु गालामा छचल्किएर भुईतिर बग्दैछन्। आफूलाई सम्हाल्न गाह्रो भए जस्तो लाग्छ। कफी पनि पिउन मन लाग्दैन। त्यसैत्यसै मन भक्कानिन्छ। यसरी यो वर्षको दशैं न त खसी,न त पीङ, न त टीका पोहोर जस्तै खाली निधार बित्दैछ।

No comments:

Post a Comment