Friday, November 13, 2009

नेपालको उदय सम्भव छ ?


शीर्षक पढ्दा अचम्म लाग्नुका साथै रिस पनि उठ्न सक्छ । 'नेपाल कहिले अस्ताएको थियो र उदय हुन्छ भन्ने प्रश्न गरेको' भन्ने स्वाभाविक भाव आउन सक्छ । हो, नेपाल अस्ताएको छैन । कहिल्यै पराधीन नभएको मुलुकलाई अहिले आएर अस्ताएको भन्न कदापि मिल्दैन । तर नेपालीहरूकै किंकर्तव्यविमुढताले विश्व मानचित्रमा नेपाल ओझेलमा पर्दै गइरहेको छ ।

देशको यो अवस्थाको बारेमा लेख्दै गर्दा मुलुकको बारेमा चर्चा हुँदा अधिकांश मित्रहरूको रेडिमेड कथन याद आइरहेको छ । धेरैजसो युवा जमातमा देशको बारेमा कुरा गर्‍यो कि 'बडो देशभक्त भइखाको' भन्ने टिप्पणी गर्छन् । देशको गरिबीसँग आम जनमानसमा पनि गरिब भावले बास गर्दैछ । जुन स्वाभाविक पनि हो । जुन देशले गाँस, बास र कपासको सुनिश्चितता गर्न सक्दैन, त्यहाँ यस्ता भाव बगे्रल्ती आउँछन् र आइरहन्छन् ।

तर यो अवस्था किन आयो ? कसैले सोच्ने जमर्को गरेको छैन । युरोप, अमेरिका अहिलेको जस्तो सम्पन्न बन्न २ सय वर्षको औद्योगीकरणको इतिहास छ । त्यहाँका वासिन्दाले विकल्प नखोजी आफ्नै माटोमा सम्भावना खोजेको गर्विलो पहिचान पनि छ । आफ्नो मुलुकलाई एकैछिन बिर्सेर पछि देशको भावले तानेर प्रगतिपथमा हिँडिरहेको भारत र चीनको उदाहरण हामीभन्दा टाढा छ्रैन । देश कहिले पनि आफैं बन्दैन । प्रगति गर्ने हो भने प्रगतिपथको पहिचान हुनुपर्छ । जुन हामीकहाँ हुनसकेको छैन ।

सरकार र नागरिक दुवै गैरजिम्मेवार भएको मुलुक बन्दैछ, हाम्रो देश । राजनीतिक दलहरू आफूलाई धर्म र नेताहरू आफूलाई भगवान ठान्दैछन् यहाँ । राजतन्त्र हटे पनि दलहरूका दास बन्दै गइरहेका छौं हामी । लोकतन्त्रमा पेसा व्यवसाय गर्ने, धर्मकर्म गर्ने, घुमफिर गर्ने, सम्पत्ति भोगचलन गर्ने, बोल्न पाउने र सूचना लिन पाउने आमनागरिकको अधिकार हुन्छ ।

तर यी सबै अधिकार दलहरूले आफ्नो मुठीमा कैद गरेका छन् । पशुपतिको दर्शन गर्न जाउँ कि नजाउँ भनेर आमनागरिकले दुईपल्ट सोच्नुपर्ने अवस्था छ । गइयो र दलका कार्यकर्ताको ढुंगामुढामा परियो भने ज्यान पनि जान सक्छ । यसले धर्मकर्म गर्नर्े अधिकार छिनेको छ ।

सार्वजनिक सवारी साधन कुन बेला कहाँ रोकिन्छ र आगलागी हुन्छ, यो सबै राजनीतिक दलहरूमा निहित अधिकार बनेको छ । जसले घुमफिरको अधिकार छिनिएको छ ।

उद्योगमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती आन्दोलनमा बोलाइन्छ । कलकारखाना जबर्जस्ती बन्द गरिन्छ । यातायात ठप्प पारिन्छ । यसले पेसा व्यवसाय गर्न पाउने अधिकार हनन भएको देखाउँछ । यो वा त्यो दलको कुरा होइन यो । जसले सत्ता पाएन, उसले यसरी गोर्खे लौरो तयार पारिहाल्छ । अनि जनताको ठेक्का मेरैमात्रै हो जस्तो गर्न थाल्छ ।

सरकारमा बस्ने त अब भगवानै भइहाल्यो । सबैले उसको पूजा गर्नैपर्‍यो । भेटी बढी चढाउनेले दर्शन पनि पाउँछ र वरदान पनि पाउँछ । पशुपतिमा बढी भेटी चढाउनेले दर्शन गर्न पाएभन्दा कम हुँदैन यहाँ पनि ।

अब तपाईं-हाम्रो कुरा गरौं । हामी दिन-प्रतिदिन गैरजिम्मेवार बन्दै गइरहेका छौं । अनुशासन र कर्तव्य भन्ने कुरा क्षीण हुँदै गएको छ । ट्राफिक नियम उल्लंघन गर्न पाउँदा गर्व गर्न थालेका छौं । संसारभर सभ्यता मापन गर्ने विषय भनेको ती देशको ट्राफिक नियम र तिनको पालना कति जनताले गरेका छन् भन्ने हो । यसको प्रभावकारी नियमनले एकातर्फ जनता सभ्य भएको देखाउँछ भने अर्कोतर्फ विधिको शासन छ भन्ने छनक दिन्छ । तर हामीकहाँको दुर्दशाले न हामी अनुशासित छौं, न विधिको शासन चलेको देखिन्छ ।

देशका सबै अंग गैरजिम्मेवार हुँदा के नेपाल उदय सम्भव छ ? अवश्य छ । यहाँनेर व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ अनि देश बन्छ भन्ने उत्तर अपेक्षा गरिएको हो भने त्यसो होइन । स्वार्थविना त झन् सम्भव नै छैन । निःस्वार्थी भाव भएको मानिस नै हुँदैन । ऋषि याज्ञवल्क्यका अनुसार, पति-पत्नी र पिता-पुत्रको प्रेम पनि स्वार्थ हो । यसको विस्तृत व्याख्या अरू कुनै बेला गरौंला । तर सबैमा स्वार्थ हुनुपर्‍यो भन्ने विषय मूल हो ।

हामी भन्छौं, नेताहरू स्वार्थी भए । उनले धनमा स्वार्थ देखे, जुन गलत देखे । त्यो त लोभ वा मोह होे । स्वार्थ भएको भए तिनको गरिमा अहिले यसरी गिर्ने थिएन । स्वार्थी मानिसले आफ्नो प्रतिष्ठाको ख्याल गर्छ । जुन प्रचण्ड, गिरिजाप्रसाद, माधव नेपाल आदि कुनै नेताले गरेनन् । प्रचण्डले आफ्नो प्रतिष्ठा हेरेको भए उनको उचाइ यसरी घट्ने थिएन । उनका अभिव्यक्ति र बारम्बार आन्दोलनको धम्की दिनेमात्रै होइन, जनजीवन नै ठप्प हुने गरिने विरोधले प्रतिष्ठा घटाएको छ । उनको उचाइ घटे-नघटेको अरूले भन्नै पर्दैन, उनैले एकछिन आफैंलाई सोधे हुन्छ । एसियाकै महान नेताको कोटिमा पुगेका कोइराला पुत्रीमोहका कारण निक्कै तल झरिसके । माधव नेपालको त कुरै छाडौं । हत्तपत्त प्रधानमन्त्री त भए, तर बजेटसम्म पास गराउन सकेनन् । यी नेताहरूको प्रतिष्ठामा आँच आएका पछिल्ला घटना हुन् यी ।

विशाल भारत निर्माणको खाका कोर्ने कौटिल्य अर्थशास्त्रका प्रणेता चाणक्यको एक भनाइ यहाँनेर नेताहरूका लागि राख्न उपयुक्त देखिन्छ । उनले राज्य सञ्चालनबारे मौर्य सम्राट चन्द्रगुप्तलाई दिएको सुझाव थियो- प्रजाको सुखमा नै राजाको सुख हुन्छ, प्रजाको हितमै उसको हित छ । जुन राजालाई पि्रय छ, त्यसलाई सबैको हित सम्भिmनु हुँदैन, जुन प्रजालाई पि्रय छ, त्यही उसको हित हो ।

राजतन्त्र हटे पनि जनता प्रजाभन्दा माथि उठ्नसकेका छैनन् । श्रीपेचधारी राजाको ठाउँ नेताहरूले लिएका छन् । यदि यी जनताको प्रतिनिधि हुँदा हुन् त जनताको जीवन कसरी चलिरहेको छ भन्नेतर्फ अवश्य विचार गर्ने थिए । आलुको मूल्य धार्नीको १ सय २५ पुगेको छ । मूल्य वृद्धिदर १० प्रतिशतको हाराहारीमा छ । गत वर्षको भन्दा कम देखिए पनि अघिल्लो वर्ष नै १४ प्रतिशतले बढेर उचाइ छोएको मूल्यमा थप १० प्रतिशत बढ्दा जनताको जीविकोपार्जन निक्कै कष्टकर बनेको छ । क्रयशक्ति बढ्नसकेको छैन । बजेट पारित हुन नसक्दा यो वर्ष जनआन्दोलन यताकै सबैभन्दा कम आर्थिक गतिविधि भएको वर्ष हुने खतरा बढेको छ । जसले लगानी, रोजगारी र आर्थिक वृद्धिमा नकारात्मक असर पार्नेछ । खाद्यान्नको अभाव हुने पक्कापक्की भइसकेको छ । यस्तै चाला हो भने उदाइरहेका दुई छिमेकीको बीचमा वर्षौंसम्म आफ्नै कारणले मुख छोपेर बस्नुपर्ने पक्कापक्की छ ।

No comments:

Post a Comment