Monday, March 9, 2009

Yesto kasto hospital


गत महिनाको सुरुतिर श्रीलंकाको युद्धग्रस्त क्षेत्रमा रहेको अस्पतालमा सरकारी सेनाले पटक पटक बम खसाउँदा कम्तिमा १२ जनाको मृत्यु भयो।
दोस्रो विश्वयुद्धको क्रममा भएको Battle for Crete मा जर्मन सेनाले न्युजिल्यान्डका सात वटा अस्पतालमा आक्रमण गरेका थिए। जेनेभा महासन्धिको उल्लङ्घन भन्दै यो आक्रमणको व्यापक आलोचना भएको थियो।
अनि, आजको ‘अन्नपूर्ण पोस्ट’ मा छापिएको कृष्णमणि बरालले खिचेको यो फोटो हेर्नुस्-


अस्पतालमा बिरामी र सुत्केरी महिलाको भागाभाग। एक नवजात शिशुको त यो भागदौडमा ज्यानै गएछ। देश शान्ति प्रक्रियामा छ, युद्ध भएको छैन- न आन्तरिक न बाह्य। तर अस्पताल जस्तो ठाउँ कति असुरक्षित ? एक जनाको मृत्यु भएको विरोधमा अर्कोको पनि ज्यान जाने गरी किन मच्चिन्छ हुलदंगा ?
घटनाको सुरुवात एउटा विवादास्पद मृत्युपछि भएको रहेछ। पोखराकी नौ वर्षकी आकृति गुरुङलाई कुकुरले टोकेछ। उनी रेबिजविरुद्धको सुई लगाउन आफ्नी आमासित शुक्रबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आएकी रहिछिन्। रेबिजविरुद्धको सुई लगाएको केही समय मै उनको मृत्यु भएछ। आफन्तहरुले हेलचक्र्याइँका कारण उनको मृत्यु भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग राख्‍दै विरोध थालेछन्।
यही विरोधले हिजो शनिबार चर्को रुप लिँदा तनाव उत्पन्न भएको थियो। आक्रोशित भीडलाई साम्य पार्न प्रहरीले फ्याँकेको टियर ग्यास प्रदर्शनकारीहरुले अस्पताल परिसर मै फ्याँकिदिँदा सुत्केरीहरु भर्खर जन्मेका शिशु च्याप्दै भागाभाग भएका थिए। बेडमा ढुंगा बर्सिँदा केही आमाहरु बच्चा नै छाडेर भाग्न विवश भएका थिए। बिरामीहरुलाई निजी अस्पतालमा सार्नु परेको थियो। अहिले चिकित्सकहरुले सुरक्षा नभएको भन्दै उपचार बन्द गरेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पूरै खाली भएको छ।
बिचरा यो भागदौडमा तीन दिन अघि मात्रै संसार टेकेका स्याङ्जा पुतली बजारकी रमादेवी शर्माको बच्चाको निजी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भयो। ती आफन्त र स्थानीय बासिन्दा, जसले अघिल्लो बिरामीको मृत्युको विरोधमा हिंसा गरेका थिए, उनीहरुले यस्तो चाहेका थिए त ? आफ्नो जस्तै अरुको पनि आफन्तको मृत्यु होस् भन्ने उनीहरुले चाहेका थिए त ? पक्कै थिएनन्। तर किन यसो भयो त ?
कुरा प्रष्ट छ- आक्रोश। नियममा जाँदा केही हुँदैन भन्ने अविश्वास। कानुनी प्रक्रियामा जाने हो भने अदालती जञ्जाल र न्याय प्रणालीको ढिलासुस्ती। बाँकी उपाय के त ? तोडफोड र जबर्जस्ती आफ्नो कुरा मान्न लगाउने। त्यसो गर्दा माग पूरा भइरहेको नजिर। अलिकति मात्रै संयम अपनाएको भए यति चर्को रुप यसले लिँदैन थियो। अस्पताल प्रशासन छानबिन गरी दोषीलाई कारबाही गर्न राजी भइसकेको थियो। तर एक्कासी अस्पतालमा आक्रमण हुन पुग्यो।
चिकित्सकहरु पनि चोखा छैनन्। उनीहरुको लापरवाहीका पनि भयङ्कर कहानीहरु छन्। सुरक्षा सतर्कता पनि राम्रो नभएको घटनाबाट देखियो। अस्पताल जस्तो संवदेनशील स्थानमा प्रदर्शनकारीहरु आक्रमणै गर्न पुग्नु अनि टियरग्यास हानाहान हुन पुग्ने अवस्था आउनुलाई सुरक्षा व्यवस्थाको ठूलो कमजोरीका रुपमा लिनुपर्छ।
यसबाहेक त्यहाँ कार्यरत चिकित्सकहरुले एउटा गम्भीर आरोप पनि लगाएका छन्- पत्रकारहरुले सत्यतथ्य समाचार सम्प्रेषण नगरेकोले यस्तो अवस्था आएको हो। उनीहरुले पत्रकारविरुद्ध नाराजुलुस लगाउँदै एभिन्युज टेलिभिजनको एउटा क्यामेरामा पनि क्षति पुर्‍याए।
कतिले यसलाई सामान्य रुपमा लेलान्। तर वास्तवमा यो एउटा गम्भीर घटना हो। टेलिभिजन च्यानल र एफएम रेडियोहरु प्रतिस्पर्धाको होडबाजीमा खबरलाई सनसनीपूर्ण बनाउन अपुष्ट खबरलाई प्रसारण गरिदिन्छन्। उनीहरुले अडियन्सप्रति उत्तरदायी हुनुपर्ने जिम्मेवारी बिर्सन पुगेका हुन्छन् त्यतिबेला। यस्तो भएपछि स्थितिलाई भड्काउन सञ्चार माध्यमले भूमिका खेल्छ।
यो घटनामा पत्रकारहरुले कसरी गलत समाचार सम्प्रेषण गरेको भन्ने आरोप प्रष्ट रुपमा पत्रपत्रिकामा आएका छैनन्। आफ्नो गल्ती लुकाउनु नेपाली पत्रकारिताको विशेषता पनि हो। अब पत्रकारविरुद्धको नाराबाजी र आक्रमण जस्ता समाचार बनाउनु बाहेक उनीहरुको आरोपलाई गम्भीर रुपमा अध्ययन गरी आफ्नो गल्ती (छ भने) त्यसलाई मनन् गर्न पनि जरुरी छ। प्रेस स्वतन्त्रता कहीँ पनि absolute हुँदैन। यसमा जिम्मेवारीका गहन विषय साथैमा जोडिएका हुन्छन्। र त, हाम्रा एक गुरु बारम्बार भन्ने गर्नुहुन्छ- प्रेस स्वतन्त्रता भनेको अकबर र वीरबलको कथा हैन….